गठ्ठाघर दुर्घटनाको ट्रक चालक पुर्पक्षका लागि कारागार चलान

भक्तपुर, भदौ २६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर चोकमा गत साउन ३१ गते स्कुटर चालकको ज्यान जाने गरी भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएको छ ।
भक्तपुर जिल्ला अदालतको आदेशले उक्त दुर्घटनामा स्कुटरलाई ठक्कर दिने ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले गत भदौ २४ गते श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनमणि अधिकारीले बताउनुभयो ।
चालक श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२) को कसुरमा मुद्दा दर्ता गरिएको थियो । उपदफा (२)मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *