ख्वप तिलगंगा आँखा अस्पतालको सेवा शुरु

भक्तपुर, जेठ ७
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा आइतवारदेखी विधिवतरुपमा ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालनमा आएको छ । ख्वप अस्पतालको चौंथो तलामा स्थापना गरिएको ख्वप तिलगंगा आँखा अस्पताल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेसँगै विधिवत सञ्चालनमा आएको हो ।
अस्पतालको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले भक्तपुर देशकै सानो नगरपालिका भए पनि शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा यसले पुर्याएको योगदान उल्लेखनीय भएको बताउनुभयो ।
भक्तपुरले नगरबासीहरुको मात्र नभई देशकै जनतालाई आवश्यक सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको बताउँदै उहाँले आँखा अस्पतालबाट गरिब जनताको निःस्वार्थ रुपमा सेवा हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष बिजुक्छेँले अस्पतालबाट प्रवाह हुने सेवाबाट व्यापक जनताको हित हुने बताउँदै जनताले बुझ्ने सरल भाषामा सेवा प्रवाह गर्न सके बिरामीहरुलाई सहज हुने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनताको सहज सेवाको लागि तिलगंगा र हेटौडा आँखा अस्पतालको तुलनामा सस्तो शुल्कमा स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालन गरेको बताउनुभयो । १८ वर्ष अघि भक्तपुरको सानो कोठाबाट सञ्चालित आँखा केन्द्र हाल भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको सुविधासम्पन्न भवनबाट सेवा शुभारम्भ हुनु भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको बताउँदै उहाँले ख्वप तिलगंगा आँखा अस्पतालले विद्यालयहरुमा आँखा शिविर, टोलटोलमा आँखा शिविरहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले जनताको सेवा र सुविधाको लागि समाजवाद उन्मुख गतिविधि गर्दै आइरहेको बताउँदै भक्तपुर नपाले शिक्षा सँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।
तिलगंगा आँखा अस्पताल काठमाडांैका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले ऐतिहासिक एवम् सांस्कृतिक नगरका जनताहरुको सेवा गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै आर्थिक र सामाजिक कारणले कुनै पनि बिरामीले आँखा उपचारको सेवाबाट बञ्चित हुन नदिन यस अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालबाट प्रवाहित हुने सेवा सुविधाहरुलाई अझ व्यवस्थित गर्दै लाने योजना रहेको बताउँदै अस्पतालले जनमुखी कार्य गरी ३६५ दिन नै जनताको सेवामा समर्पित भावले काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदिप राजभण्डारी, ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज डा. धिरज अधिकारी, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वलगायतले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *