ख्यातिप्राप्त विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डको नक्कली मदिरासहित ३ जना पक्राउ

भक्तपुर, माघ १५
ख्यातिप्राप्त विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरासहित काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखा कालिञ्चोक गाउँपालिका–३ का २७ वर्षिया निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जा गल्याङ नगरपालिका ९ घर भई हाल टोखा बस्ने धर्मी गौडेल र सिन्धुली तिनपाटन गाउँपालिका–२, घर भई ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगर छन । उनीहरु नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्न भएको आरोपमा पक्राउ परेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

 

 

 

प्रहरीले उनीहरुको साथबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको छ ।
बरामद गरिएका मदिराहरुमा गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र स्लान भोड्का १३२ बोतल रहेको छ । एसपी कोइरालाले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरिएको जानकारी दिनुभयो ।
काठमाण्डौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरु उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा गत माघ १३ गते प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर स्टोरमा खानतलासी गरेको थियो । त्यहाँबाट प्रहरीले खुकुरी रम नामक स्वदेशी ब्राण्डका नक्कली मदिरा फेला पारेको एसपी कोइरालाले बताउनुभयो ।


अनुसन्धानको क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ५, टिकाथलीको विभिन्न स्थानमा नक्कली मदिरा उत्पादन हुने गरेको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारी गुणस्तरहिन नक्कली मदिरा, मदिरा बनाउन प्रयोग हुने केमिकल, मदिराका बोटललगायतका सामग्री बरामद गरिएको एसपी कोइरालाले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि प्रहरी परिसर ललितपुर पठाएको एसपी कोइरालाले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *