केएमसी प्रशासन, विद्यार्थी र अभिभावकबीच तीन बुँदें सहमति

भक्तपुर, पुस २३
काठमाण्डौं मेडिकल कलेज (केएमसी), दुवाकोटमा अध्ययनरत चिकित्साशास्त्र स्नातक तहका आन्दोलनरत विद्यार्थीहरु र कलेज प्रशासनबीच यथाशिघ्र विवाद समाधान गरी पठनपाठन सुचारु गर्न तीन बुँदें सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अगुवाईमा कलेज प्रशासन, विद्यार्थी र अभिभावकका प्रतिनिहिरुबीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रवार सम्पन्न छलफलमा शुल्क विवाद समाधान गरी पठनपाठन सूचारु गर्न तीन बुँदें सहमति भएको हो ।
प्रजिअ शर्माका अनुसार छलफलमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २ (थ) मा उल्लेखित शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगको मिति २०७८ पुस ५ गतेको सूचनाका सम्बन्धमा थप प्रष्ट हुन सम्बन्धीत निकायमा थप छलफल गरी यथाशिघ्र कक्षा सञ्चालन गर्न कलेज प्रशासन, विद्यार्थी र अभिभावक सहमत भएका छन ।
त्यसैगरी मेडिकल कलेजको छात्रावासको विषयमा मेडिकल कलेज र विद्यार्थीहरु बीच समझदारी गरी कार्यान्वयन गर्ने, कलेजको चालु शैक्षिक सत्रमा अध्यापन गराउनु पर्ने धेरै विद्यार्थीहरु आन्दोलनरत रहेको अवस्थामा सबै विद्यार्थीहरुलाई भर्ना गरी पठनपाठन गराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिने र सो अनुसार कार्यान्वयन गर्ने सहमति भएको प्रजिअ शर्माले बताउनुभयो ।
प्रजिअ शर्माको रोहवरमा सम्पन्न छलफलमा केएमसीका तर्फबाट प्रमुख कार्यकारी खगेन्द्र न्यौपाने, कलेजका प्रिन्सिपल प्रा. डा. रविन्द्रमान श्रेष्ठ, प्रशासन विभागका दिपक बस्न्यात, प्रतिनिधि भिमबहादुर चन्द, विद्यार्थीहरुका तर्फबाट प्रविन न्यौपाने, सोनु यादव, निशा तिवारी, निश्मा सुवेदी, संयुक्ता खतिवडा, राजन पाण्डे, अभिभावकहरु रामहरी खड्का, सम्पत घिमिरे, राम कार्की, श्याम श्रेष्ठ, रेशम कार्कीलगायतको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *