किर्तिपुरमा ३ घर भाडामा लिएर अनलाईन जुवा अखडा, १२ जना पक्राउ

भक्तपुर, माघ ६
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले अनलाइन जुवा खेलाएको आरोपमा काठमाण्डौंको किर्तिपुरबाट १२ जनालाई पक्राउ गरिएको छ । प्रहरीले किर्तिपुरको वडा नं –६ चोभार, वडा नं –९ नगाँउ र वडा नं–१० बागभैरबस्थित विभिन्न घरहरुमा छापामारी अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाईललगायतका विद्युतीय उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाण्डौ कीर्तिपुर–६, चोभार बस्ने ३३ वर्षिय सुजेन्द्र थापा, १७ वर्षीय मनिश थापा र समिर थापा, २७ वर्षीय कबिता थापा, ३० वर्षीय रवीन खड्का, वडा नं. १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, वडा नं. ८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, १९ वर्षीय साहिल महर्जन, वडा नं. १० बस्ने १९ वर्षीय हनिशा महर्जन, वडा नं. ९ नगाँउ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, बझाङ केदारस्युँ गाउँपालिका–५ घर भई कीर्तिपुर–५ बस्ने १९ वर्षीय बिनोद ठगुन्ना र सिन्धुपाल्चोक मेलम्ची–१३ घर भई कीर्तिपुर बस्ने १७ वर्षीय रमादेवी श्रेष्ठ छन् ।


किर्तिपुरका विभिन्न स्थानमा अनलाईन जुवा खेलाउदै गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाको विशेष प्रहरी टोलीले किर्तिपुरका विभिन्न स्थानमा छापामारी उनीहरुलाई पक्राउ गरिएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाद पंगेनीले बताउनुभयो ।
अनुसन्धानका क्रममा पक्राउ परेका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज कर्मचारीहरू समेत राखेको एसपी पंगेनीले बताउनुभयो ।
उहाँका अनुसार त्यहाँ खटिने कर्मचारीहरूले फेसबुकमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई अनलाइन जुवा खेल्न लिंक शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको पैसा पुरस्कारको रुपमा दिने गरेको देखिएको छ ।


जुवा खेलाउनेले करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको बुझिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूबाट विभिन्न कम्पनीका १७ थान मोबाइल, विभिन्न कम्पनीका १४ थान ल्याप्टप तथा दुई थान डेस्कटप कम्प्युटर तथा जुवाको हिसाव राख्ने रजिष्टर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागि महानगरिय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *