काठमाण्डौंसहित पहाडी क्षेत्रमा फागु पर्व मनाइँदै, भक्तपुरमा पृथक शैलीमा मनाईन्छ फागु

भक्तपुर, फागुन २२
फागुन शुक्ल पूर्णिमाको अवसरमा आज काठमाण्डौं उपत्यकासहित देशका पहाडी जिल्लाहरुमा फागु पर्व धुमधामसँग मनाइँदैछ । तिथि घट्बढका कारण साँझमात्र पूर्णिमा लाग्ने भएतापनि पञ्चांग निर्णायक समितिको निर्णायानुसार आजै फागु पर्व मनाउन लागिएको हो । पहाडी क्षेत्रमा मनाएको भोलीपल्ट फागु पर्व मनाईने परम्परा अनुसार तराई मधेशमा भने भोली मंगलवार फागु पर्व मनाउँदैंछन ।
पूर्णिमाको दिन मनाईने पर्व भएतापनि यो पर्व फाल्गुण शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि शुरु हुन्छ । यो पर्व पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त हुन्छ ।
एक आपसमा रंग दलेर हर्ष खुसीयाली साटासाट गरी मनाईने फागु पर्व होली पर्वको रुपमा समेत परिचित छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ । यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।
फागु खुसी र उल्लासमय पर्व हो । यो पर्वमा एक आपसमा रंग दलेर खुसी साटासाट गरेर मनाउने प्रचलन छ । यसलाई एक आपसमा रहेको वैमनस्य भुलेर मित्रता र भाइचारा स्थापित गर्ने पर्वको रुपमा पनि लिईन्छ ।
विजयको हर्षोल्लासमा दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने, उन्मत्त भएर आफैभित्र हराउने र तनमन रङगाउने पर्वको रुपमा प्रचलित फागुपर्व भक्तपुरका नेवार समूदायले भने पृथक शैलीमा यौन र महिला लक्षित पर्वको रुपमा मनाउने गर्दछन ।


भक्तपुरमा फागुको शुरुवात नै पृथक शैलीले गर्ने प्रचलन छ । काठमाण्डौको हनुमानढोका दरवारमा रंगीविरंगी कपडासहितको चीर गाडेर फागुको शुरुवात गर्ने प्रचलन छ तर भक्तपुरमा भने तचपालस्थित भिमसेन मन्दिरको पाटीमा पुरुष जननेन्द्रिय अंग लिंग आकारको बडेमानको काठ र महिलाको योनीको प्रतिक स्वरुप बीचमा प्वाल पारिएको रातो कपडा प्रदर्शनमा राखेर फागु शुरुवात भएको जनाउ दिईन्छ ।
दत्तात्रयबाट गोल्मढीतर्फ जाँदा दाहिनेतर्फ रहेको सो मन्दिरको पाटीमा करिव दुई हात लामो र ३० ईन्च मोटाईको बडेमानको लिङ्गाकार काठ झुण्ड्याईन्छ । सो लिङ्गाकार काठसँगै बीचमा प्वाल परेको रातो कपडा पनि झुण्ड्याएको हुन्छ । लिङ्गाकार काठको टुप्पामा कपास राखिएको छ । हावाले रातो कपडा हलाउँदा वा मानिसले लिङ्गाकार काठलाई धकेल्दा कपडाको बीचमा रहेको प्वालमा लिङ्गाकार काठ छिर्ने गर्दछ ।
यसलाई स्थानीयहरु भिमसेन र द्रपौदीको यौन समागमनको दृष्यका रुपमा लिन्छन भने लिङ्गाकार काठमा झुण्ड्याएको कपासलाई विर्य झरेको प्रतिकको रुपमा लिन्छन । लिङ्ग र योनीको समागम गराउँदा कपास खस्नेगरी धकेल्नुपर्छ भनी स्थानीयहरू जिस्किने गर्छन् । फागु पुर्णिमाको १ हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ ।


फागु पूर्णिमाको दिन साँझपख सो लिङ्गलाई बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखे पछि फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाईन्छ ।
यसरी लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखी शुरु भएको हो भन्ने एकिन तथ्य फेला परेको पाईंदैन । यद्यपी भिमसेनको मन्दिर राजा जगतप्रकाश मल्लले १७ औँ शताब्दीमा निर्माण गरेको इतिहास पाईएकाले यो प्रचलन पनि सोही समयदेखी प्रचलनमा आएको अनुमान गरिएको छ ।
झट्ट हेर्दा वा सुन्दा अश्लिल दृष्य जस्तो लागे पनि भक्तपुरमा भने यो फागु संस्कृतिको महत्वपुर्ण पाटो रुपमा रहेको छ । स्थानीय भाषामा ‘भिँसिद्यया लज्ज’ भनिने सो लिंगाकार काठलाई स्थानीयहरु भिमसेन देवताको लिङ्गको रुपमा लिन्छन भने प्वाल परेको रातो कपडालाई द्रोपदीको योनीको रुपमा लिईन्छ ।
झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि तत्कालिन समयमा यसले यौन शिक्षा दिने गरेको संस्कृतिकर्मीहरु बताउँछन । पौराणिक कालमा देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको उनीहरुको भनाई रहेको छ ।
यौन समागमनको प्रतिक काठको लिङ्ग र प्वाल परेको रातो कपडाको प्रदर्शनसँगै स्थानीय भिमसेन मन्दिरका गाइजुहरु मन्दिरको पाटीमा बसेर यौनरस युक्त
भिँसिद्यया लज्ज खङ लो वान ला,
बिस्यु वाने मायक स्व वया ला’
अर्थात् “भीमसेनको लिङ्गदेखि मोह जाग्यो कि, भाग्नुपर्ने गरी हेर्न आएको होे कि” भनेर भजन–कीर्तन गाउने गर्छन् । साथै
अबिरया होली, तँचायला ल्यासे
अबिरँ छंगु ख्वा, हिसी दय्काबी
‘अबिरको होली, रिसायौ की नानी, अबिरले तिम्रो मुहार, हिसी बनाईदिऊँ’
झ्या दकंः तुँकंः मा
व हे ल्यासे जित मा
व ल्यासे मदेकः जा हे मनया
“झ्याल भरी तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न” अर्थको नेवारी फागु सम्बन्धी लोकभाका गाएर मनोरञ्जन लिने गर्दछन ।
बसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुलहरु फुल्न थालेसँगै मानिसको मन मष्तिस्क समेतमा एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविदहरुको भनाई रहेको छ ।
बसन्त ऋतुको वातावरणले मानिसमा कामवासना जागृत गराउन सहयोग गर्ने र यसै समयमा आउने फागुपर्वमा यौनरसयुक्त गित प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । उहाँका अनुसार १७ औं शताव्दीदेखी नै कृषि पेशामा संलग्न उपत्यकावासी बसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुसर्दमा मनोरञ्जनतर्फ आकृषित हुने तर तत्कालिन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीहरुको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरस युक्त संगित गुञ्जने गरेको हो ।
यसैका कारण कसै कसैले यस पर्वलाई अस्लिल पर्वको रुपमा चित्रण गर्ने प्रयास गरेको पाईएको बताउँदै धौभडेल यसलाई अस्लिल पर्वको रुपमा नभई विशुद्ध जिवन्त साँस्कृतिक पर्वको रुपमा लिनुपर्ने बताउँछन । फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवा युवती, सबै जातजाती फागुको रंगमा रंगिने र सबैले खुसीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत भएको बताउनुभयो ।
बसन्त क्रतुको आगमनसँगै फागुपर्वलाई भक्तपुरमा सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रुपमा मनाइन्छ । यो समय कामदेव आफै सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । चीर स्वायगु अर्थात चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनको रुपमा लिनुपर्ने राजोपाध्याय बताउँछन ।


विशेषगरी माघ र फागुन महिना बिहावारीको महिना भएको र नवविवाहितहरूलाई समागम गर्ने तरीका सिकाइ यौनउमङ्ग जगाउने शिक्षा संस्कृतिमार्फत दिन खोजेको देखिन्छ । यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको पाइन्छ । बसन्त क्रतुको आगमनसँगै फागुपर्वलाई भक्तपुरमा सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रुपमा मनाइन्छ । यो समय कामदेव आफै सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको राजोपाध्यायको भनाई रहेको छ ।
फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पुजा गर्ने र बाजा गाजा सहित एक आपसमा अविर दलेर टोल छिमेक परिक्रमा गरी मनाउने गर्दछ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *