काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने

भक्तपुर, जेठ २०
काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने भएको छ । मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न आगामी असार १ गतेदेखी दुई महिना उपत्यकामा मेलम्चीको पानी वितरण बन्द गर्न लागेको हो ।
काठमाण्डौंमा मेलम्चीको पानी वितरण गर्नुअघि सुरुङको प्रोटोकल पुरा गरिएको थिएन । उद्घाटनको हतारोले प्रोटोकल पुरा नहुँदैं पानी वितरण शुरु गरेको थियो । सुरुङको प्रोटोकल अनुसार सुरुङमा पानी भरेपछि ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पुरै खाली गरेर समस्या भए÷नभएको अध्ययन गर्नुपर्ने थियो । त्यसैको लागि अहिले पानी बन्द गर्न लागेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो ।
उहाँका अनुसार असार १ देखि पानी पठाउन बन्द गरेपछि सुरुङ खाली हुन १५ दिन लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समाधान गर्नेछन् । ‘सुरुङमा कुनै समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकिन्छ,’ प्रवक्ता पन्तले भन्नुभयो, ‘त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्छ, समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ ।’
साढे २६ किलोमिटर लामो सुरुङमा फागुन १० गते पानी भर्न शुरु गरेको थियो । सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा पानी खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *