कांग्रेसमा पुराना नेताहरुलाई सम्झने परम्परा विकास भएको छ – महामन्त्री थापा

भक्तपुर, साउन २७
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसमा पुराना नेता कार्यकर्ताहरुलाई सम्झने र उनीहरुलाई सम्मान गर्ने परम्परा विकास भएको बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका नेता स्व. श्याम बहादुर कार्कीको १६ औं स्मृति दिवसको अवसरमा श्यामबहादुर स्मृति प्रतिष्ठानद्वारा शनिवार बालकोटमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आउँदो पुस्तालाई समाजप्रति उत्तरदायी बनाउन र कांग्रेसप्रति आकर्षित गर्न सो परम्परा विकास गरिएको बताउनुभयो ।
“कांग्रेसमा एउटा नयाँ परम्पराको शुरुवात भएको छ । धेरै कार्यक्रममा जाँदा पार्टीले आफ्ना कार्यक्रममा त्यहाँका पार्टीका पुराना मानिसलाई सम्झने, उनीहरुको परिवारलाई सम्झने सम्मान गर्ने, मरोणान्त सम्मान गर्ने गरेको देखियो,” उहाँले भन्नुभयो, “यसले ठूलो अर्थ राख्छ । यसले समाजमा योगदान पुर्याएका मानिसलाई सम्मान हुनुका साथै आउँदो पुस्ताले पनि हामी कहाँबाट आएका रहेछौं, कस्तो परिवेशबाट आएका रहेछौं भन्ने जानकारी प्राप्त गर्छ ।”


उहाँले समाजमा योगदान गरेका व्यक्तित्वहरुको चर्चा परिचर्चाले बालबालिकामा सकारात्मक छाप छाड्न सक्ने र यसले भविष्यमा उनीहरुलाई असल नागरिक बनाउन अभिप्ररित गर्न सकिने बताउनुभयो । उहाँले स्वतन्त्रताको लागि भएको संघर्षलाई निरन्तर रुपमा बुझाउन सकिएन भने स्वतन्त्रताको मूल्य के हो भन्ने कुरा पनि बुझाउन नसकिने बताउनुभयो । उहाँले
“नेपालको लोकतान्त्रिक आन्दोलमा २०६२÷०६३ को आन्दोलन समेत नदेखेका र नभोगेका ठूलो जमात अहिले मतदाताको रुपमा अघि आएको छ,” उहाँले भन्नुभयो, “कांग्रेसले धेरै दुःख गरेको २०४६ साल र त्यो भन्दा अघिको समयमा हो । त्यो बेलाको संघर्ष अहिलेका पुस्तालाई एकादेशको कथा जस्तो छ । यस्तो कथालाई निरन्तर रुपमा नयाँ पुस्तालाई बुझाई राख्न पनि पुराना नेताहरुको स्मरण गरिरहनु पर्छ ।”


कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले स्व. कार्कीको व्यक्तित्वको चर्चा गर्दै पार्टी र देशको लागि योगदान दिनुहुने सबै राजनीतिक नेता कार्यकर्ताहरुलाई जनताले पनि सदैव सम्झिरहने बताउनुभयो ।
स्व. कार्कीका बालसखा रामप्रसाद दवाडीले तत्कालिन अवस्थामा शिक्षकको जागिरे भएपनि प्रजातन्त्रका लागि पञ्चायतविरुद्ध संघर्ष गर्दा अराष्ट्रिय तत्वको संज्ञा पाएको बताउनुभयो । स्व. कार्की जेल पर्दा घर स्याहर्ने मानिस समेत नभएको स्मरण गर्दै प्रजातन्त्रका लागि संघर्ष गर्दा अनेकौं लाञ्छना र आरोप खेप्नु परेको बताउनुभयो ।


उहाँले अहिले सामाजिक सञ्जालहरुमा विना ज्ञान नै टिप्पणी गर्ने र पार्टीका नेताहरु माथि हिलो छ््याप्ने प्रवृत्ति मौलाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेताले कायकर्ताहरुको र कार्यकर्ताहरुले नेताहरुको घर परिवारका बारेमा जानकारी राख्ने गर्नाले पार्टी सबैको दुःखसुखको साथी बन्न सक्ने बताउनुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिका सहमहामन्त्री ऋषिराम घिमिरेले २०५४ सालको निर्वाचनमा स्व. कार्की बालकोट गाविसको अध्यक्षको रुपमा आफ्नो भेट भएको र उहाँ अत्यन्त विकासप्रेमी र दुरदृष्टि भएको नेताको रुपमा पाएको स्मरण गर्नुभयो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्कीले निक्कै हक्की स्वभावका स्व. कार्की इमान्दार मात्र नभई पार्टीको बफादार नेता रहेको स्मरण गर्नुभयो । नेपाली कांग्रेसका नेता कविर राणाले भक्तपुरमा विशेषगरी बालकोटमा कांग्रेसको संगठन बिस्तारमा स्व. कार्कीको योगदान ठूलो रहेको चर्चा गर्नुभयो ।


प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा बालकोटस्थित गणेश आधारभूत विद्यालयमा अध्ययनरत ११७ जना विद्यार्थीहरुलाई स्कुल व्याग, स्टेशनरी सामग्री वितरण गरिएको थियो । सोही अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६४ जना महिला पुरुषले रक्तदान गरेको प्रतिष्ठानका सचिव प्रदिप कार्कीले जानकारी दिनुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *