एन प्याव्सन भक्तपुरद्वारा ८३ शिक्षक शिक्षिका सम्मानित

भक्तपुर, मंसिर १
राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याव्सन) भक्तपुरले शुक्रवार ८३ जना शिक्षक शिक्षिकालाई ‘दीर्घ शिक्षा सेवा’ले सम्मान गरेको छ । एन प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभाको अवसरमा आफ्ना सदस्य विद्यालयहरुमा १० वर्ष भन्दा बढी सेवा गरेका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सम्मान पत्र र एन प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले दोसल्ला ओढाई शिक्षक शिक्षिकहरुलाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री थापाले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीजि विद्यालयहरुका संगठन एन प्याव्सन, प्याव्सन, हिसानलगायतका संघसंस्थाहरुले एक आपसमा भक्तपुरको शिक्षाको गुणस्तर बृद्धि गर्ने विषयमा प्रतिष्पर्धा गरी भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सुझाव दिनुभयो ।


उहाँले आफू स्वास्थ्य मन्त्री भए देखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्य अवस्था बारे सुक्ष्म ढगंले अध्ययन गरी सबै जनताले उपचारबाट बन्चित हुन नपरोस भनि लागि परेको बताउनुभयो ।
उहाँले नीजि विद्यालयहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गरी बागमती प्रदेशले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीति निर्माण गरिरहेको बताउनुभयो । “सामूदायिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौं । अब नीजि विद्यायहरुमा पनि स्वास्थ्य शिविर मार्फत बागमती प्रदेश सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने नीति लिएको छ,” उहाँले भन्नुभयो ।
उहाँले भक्तपुर अस्पतालमा सिटी स्क्यान जडानको लागि भवन निर्माण गर्ने विषयमा भक्तपुर नगरपालिकासँग छलफल भइरहेको र नगर प्रमुख समेत सकारात्मक भएकोले छिट्टै सिटि स्क्यान मेसिन जडान हुने बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले एन प्याव्सन भक्तपुरले शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेर उदाहरणीय कार्य गर्नुका साथै यस्तो सम्मानले शिक्षक शिक्षिकाहरुको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।
एन प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले सदस्य विद्यालयको जस्तो सुकै परिस्थितिमा पनि साथ दिएर बालबालिकाको शिक्षामा अनवरत सेवामा एउटै स्कुलमा रहेर अध्यापन गराउनु हुने शिक्षकहरुलाई दीर्घ शिक्षा सेवा सम्मान गरिएको बताउनु भयो ।
कार्यक्रममा एन प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, एन प्याव्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष रामप्रसाद खाताखो र सचिव कुमार थापामगरलगायतले एन प्याव्सन भक्तपुरका विविध गतिविधिको चर्चा गर्दै भक्तपुरको शिक्षा विकासमा सधैं तत्पर रहने बताउनुभएको थियो ।
यसैबीच नवौं वार्षिक साधरण सभाले कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । सभाले अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गर्नुका साथै सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढिकरणको लागि प्रस्तावहरु पारित गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *