भक्तपुर, चैत्र २
उपभोक्ता अधिकारका लागि उपभोक्ता स्वयम् जागरुक र सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले नियमनकारी निकायले पनि बजारको नियमित अनुगमन र नियमन गरी आफ्नो भूमिकालाई इमान्दारीपूवर्क निभाउनुपर्ने बताएका छन ।
विश्वक उपभोक्ता दिवसको अवसरमा शुक्रवार राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरले आयोजित ‘स्वच्छ र प्रतिष्पर्धी बजार ः उपभोक्ताको सार्वभौम अधिकार’ विषयक कार्यक्रममा सहभागीहरुले उपभोक्ताहरुको हित संरक्षणमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने सुझाव समेत दिएका छन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य रेखा यादवले उपभोक्ता आफै सचेत नहुदाँसम्म अधिकार प्राप्त नहुने भएकाले चनाखो हुन आग्रह गर्नुभयो । उहाँले बजारमा वस्तु वा सेवा खरिद गर्दा नेपालको ऐन कानूनले उपभोक्तालाई दिएका अधिकारको उपयोग गरी उक्त वस्तु वा सेवाको गुणस्तरियता, मूल्य र उपभोग्य मितिको बारेमा ज्ञान लिएर खरिद गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नियमनकारी निकायले नियमितरुपमा अनुगमन गरी उपभोक्ता अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायीले पनि उपभोक्ता हितलाई केन्द्रविन्दुमा राखेर व्यवसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ताको अधिकार संरक्षण र सम्वर्धनका लागि सवै जिम्मेवार बन्न जरुरी रहेको धारणा राख्नुभयो ।
बागमती प्रदेशका सांसद किरण थापाले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले नियामक निकायले पनि आफ्नो कार्य क्षमतामा विकास र बिस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशिल हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर खड्काले उपभोक्ताहरुलाई सहज पहुँचको अधिकार, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनोट गर्न पाउने अधिकार रहेको बताउनुभयो । उहाँले जिससको भूमिका अनुगमन र समन्वयकारी रहेको बताउँदैं उपभोक्ताको हकहित संरक्षणको लागि बजार अनुगमनमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले प्रशासनले बजार अनुगमनलाई प्रभावकारी बनाउँदैं लगेको जानकारी गराउँदैं सेवा दिने निकाय, उद्यमी, व्यावसायी लगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सवै क्षेत्र आआफनो क्षेत्रमा इमान्दार हुन सकेमा सुशासन र अधिकार पनि मजबुत हुने बताउनुभयो ।
मञ्चका भक्तपुर अध्यक्ष मनोज थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी मैयाँ धौवञ्जा, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख आशिष दाहाल, नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति पर्शुराम पाण्डे, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजालगायतले बजारमा उपभोक्ता हित विपरीत हुने कुनै पनि प्रकारका ठगी, कालोबजारी, मिसावट, गुणस्तरहीन वस्तुको बिक्री–वितरणबारे उपभोक्तालाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ ।
संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।
उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् ।
नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था छ । सो व्यवस्थामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने उल्लेख छ । साथै गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक पनि संविधानमा सुनिश्चित गरिएको छ ।
Leave a Reply