उच्चस्तरीय प्रशिक्षणका लागि नेपाल र काजकिस्तान चेस संघबीच सम्झौता

भक्तपुर, साउन २६
नेपाल बुद्धिचाल महासंघ र कजाकिस्तान चेस संघबीच शुक्रवार नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्बन्धमा सम्झौता भएको छ । नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले कजाकस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जिबिसँग दुईपक्षीय हस्ताक्षर गरी नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्झौता गरेका छन् ।
विश्व बुद्धिचाल महासंघ र एशियन चेस फेडेरेशनको तत्वावधानमा हुने उच्चस्तरीय प्रशिक्षणले बुद्धिचालको प्रचारप्रसार, विकास र आपसी सहयोग स्थापना हुने मूल उद्देश्य लिएको छ । सम्झौता अनुसार पहिलो चरणको प्रशिक्षण श्रावण १७ गते देखि आगामी पुस १६ गते सम्म सञ्चालन हुनेछ ।
प्रशिक्षणका लागि काजकिस्तानले अन्तर्राष्ट्रिय ग्रायण्ड मास्टरलाई प्रशिक्षकको रुपका पठाउने, ब्राण्डेड टी–शर्त प्रदान गर्ने, चेस ईन स्कुल कार्यक्रममा सहयोग गर्ने, खेल सामग्री प्रदान गर्ने, साइमलटानियस खेल प्रदर्शन गर्ने, वेवसाइत मार्फत समाचार संप्रेषण गर्ने र भौतिक रुपमा उपस्थित भएर गर्न सक्ने सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ ।
यस्तै नेपाल बुद्धिचाल महासंघले प्रशिक्षण दिन राम्रो स्थानको व्यवस्था गर्ने, नेपाली शीर्ष खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराउने, विदेशी प्रशिक्षकको लागि बस्ने र खाने व्यवस्था गर्ने, राष्ट्रिय दैनिक समाचार पत्रिकामा प्रचारप्रसार गर्ने र नेपाल स्थित अभिभावकीय खेलकुद निकायसँग समन्वयात्मक भुमिका खेल्ने कुरा उल्लेख गरिएको छ ।
नेपाल बुद्धिचाल महासंघले सेप्टेम्बर १० देखि हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडलाई लक्षित गरेर पहिलो पटक अन्तर्राष्ट्रिय ग्राण्ड मास्टरद्वारा उच्चस्तरीय प्रशिक्षण शुरु गरेको हो । बुढापेष्टमा हुने खेल प्रतिस्पर्धा दौरान काजकिस्तानी ग्रायण्ड मास्टर जिएम मुर्तजा टोली सँगै रहने भएको छ । नेपालले सहभागी जनाउने पुरुष र महिला दुवै विधामा महासंघले पदक प्राप्त गर्ने गरी तयारी शुरु गरेको छ ।
महासंघले चेस ओलम्पियाड तयारी सम्बन्धमा नेपाल च्याम्पियन राजन सुबेदीले सन्तुष्ट जनाए । “महासंघले बाहिर जिल्लाका खेलाडीलाई होटलमा राखेर सुपर ग्रायण्ड मास्टरले प्रशिक्षण प्रदान गर्नु हाम्रो लागि गौरवको बिषय हो । हामी खेलाडीलाई यसले ठूलो उत्प्रेरणा मिलको छ । हामी पदकको लागि खेल्ने छौं,” उनले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *