ईन्द्रजात्राको लागि यःसिं लगियो

भक्तपुर, भदौ २१
ईन्द्रजात्राको अवसरमा काठमाण्डौंको बसन्तपुरमा ठड्याउने यःसिं शुक्रवार भक्तपुरबाट लगिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित यःसिं गुँबाट उक्त यःसिं भक्तपुरबासीले तानेर काठमाण्डौं पु¥याएको हो ।
भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीको दिन ईन्द्रध्वजोत्थान अर्थात यःसिं ठड्याएर आठ दिन काठमाण्डौं उपत्यकामा धुमधामका साथ ईन्द्रजात्रा मनाईन्छ । सोही ईन्द्रजात्राको लागि यःसिं लगिएको हो । यःसिं भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित यःसिं गुँदेखी ताथली, च्याम्हसिंह, जगाती, सूर्यविनायक, थिमि, कोटेश्वर, बानेश्वर, माइतीघरहुँदैं भद्रकाली पु¥याएको हो ।


यःसिंको लागि रुख छनोट गरी काट्न नेपाली सेनाको श्री शार्दूल जंग गुल्मका गुल्मपतिको नेतृत्वको गुर्जुको पल्टन, हनुमानढोका दरवारका पुजारी ब्राम्हण, केन्द्रीय मानन्धर संघको पदाधिकारीलगायतको टोली बिहिवार साँझ ७ बजे चित्तपोलस्थित यःसिं गुँ पुगेको केन्द्रीय मानन्धर संघका सचिव एवम् सञ्चारकर्मी केके मानन्धरले बताउनुभयो ।
टोलीले परम्परागत विधि विधान अनुसार पुजा गरी यसवर्षको यःसिंका लागि रुख छनोट गरिएको मानन्धरले बताउनुभयो । उहाँका अनुसार बिहिवार राती करिव साढे ८ बजे रुख काटिएको थियो । रूख काट्नु अघि गुरूजुको पल्टनले सलामी दिएको थियो ।


यो वर्ष भक्तपुरस्थित साःक्वलान टोलको नमोबुद्ध बचत समूहले पूजाको लागि आवश्यक हुने क्वतः, कलश, सुकुन्दा लगायतको पूजाथाली केन्द्रीय मानन्धर संघलाई हस्तान्तरण गरेको थियो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार तथा त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई ईन्द्रजात्रा सम्बन्धि विभिन्न सांस्कृतिक गतिविधिहरुको शुभसाइत उल्लेख गरी पठाइएको पत्र बमोजिम जिम्मेवारी प्राप्त निकाय केन्द्रीय मानन्धर संघले यःसिंको लागि वृक्षकर्तन गरेको हो । रूख काटिएसँगै पाँच जनाको गुरूजुको पल्टनले एकैपटक बन्दुक पड्काएर हर्ष बढाइँ दिएको हो ।
यो वर्ष भदौ ३० गते आइतवार बिहान ८ः२६ बजे ईन्द्र ध्वजोत्थान हुनेछ, ईन्द्रजात्रा अर्थात येँयाःको क्वहनेयाः कुमारी यात्रा असोज १ गते मंगलबार हुँदैछ ।


ईन्द्रजात्रालाई काठमाण्डौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतको ठाउँमा वर्षा र सहकालका देवता ईन्द्रको पूजा–आराधना गरी परम्परागत तरिकाले मनाउँदै आएको छ ।
पछिल्लो समय भारतको सिक्किम, अमेरिका, जापान, अष्ट्रेलिया, बेलायतमा समेत ईन्द्रजात्रा मनाउँछन् । १२औंदेखि १८औं शताब्दीमा निर्माण भएका मन्दिरहरुले भरिएको हनुमानढोका दरबार यो जात्राको उद्गम स्थल हो ।
भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीको दिन ईन्द्रध्वजोत्थान गरी सुरु हुने ईन्द्रजात्रा चौथी अर्थात् ईन्द्रध्वज पतनसम्म ८ दिन हुन्छ । यो अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *