आत्माको महत्व बुझ्न आज म्हपूजा मनाउँदै नेवार समुदाय

लक्ष्मी गारु, कार्तिक ९
मौलिक चाडपर्वका धनी नेवार समुदाय तिहारको चौंथो दिन आज न्हूँ दँ या भिन्तुना (नयाँ वर्षको शुभकामना) भन्दै बिहान नेपाल संवत र साँझ घरघरमा म्हपुजा (शरिर पुजा) मनाउँदैछन ।
म्हपुजाको अर्थ हो शरिर पुजा । तिहारको चौंथो अर्थात कार्तिक शुक्ल प्रतिपदाको राती नेवार समुदायले आ–आफ्नो शरिर पुजा गर्दै म्हपुजा पर्व मनाउने गर्दछन । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योती फैलियोस भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ ।
म्हपूजाको दिन नेवारहरु विहानै उठेर घरमा सफा सुग्घर गरी नुहाई धुवाई गरी चोखो लुगा लगाई विभिन्न पकवानहरु पकाएर बेलुका आफ्नो आत्माको प्रतिक मण्डला बनाई पूजा गर्छन् ।
म्हपूजा गर्न सुरुमा रातो माटोले लिप्छ । लिपिसकेपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ । त्यसपछि तेलको मण्डला बनाइन्छ । त्यसको माथि चामलको पिठोबाट व्यक्तिको प्रतिक मण्डला तयार गरी त्यसमा पञ्चरंङ्गिन बनाइन्छ । त्यसपछि मण्डलाको बीचभाग र चार कुनामा कालो काँचो भट्मास, आख्य(धानको बोक्रा निकालेर तयार गरेको कालो चामल) राखिन्छ । त्यसको माथि खेलुइता (टुप्पिदेखि चिउँदोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ ।
घरका सदस्यहरु क्रमशःघरको मुलीदेखी लस्करै मण्डला अगाडि पारेर बस्छन । घरको मुली माथि गणेश भगवानको मण्डला तयार गरिन्छ । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयर लगायतका फलफुल सजाईन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरंगिन कपडाको टुक्रा राखेर बनाएको माला), सयपत्री फूलको माला र सयपत्री तथा गोडावरी फूल राख्छ ।
म्हपुजा गर्दा पहिले सुकुण्दा बालेर चामलको पिठोबाट बनाइएको गणेश पुजा गरी शुरु गरिन्छ । यो पूजा घरको नकीं (मुली महिला)ले गर्ने परम्परा छ । यो पुजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत रुपमा पूजा गरी खेलुइता बालेर शरिरको तीन अंग घुँडा, कुम र टाउकोमा तिन ओटा मुटुमारी (चामलको रोटी), पञ्चरंगी फुलका टुक्रा, अमला, ओखर, ताय, जुंगेधान, आख्य आदी राखेर तीन पटकसम्म टाउकोमा ढोगाएर मण्डलामा जाने गरि कुले (काठको पाठी)ले खन्याइ म्हपूजा गरिन्छ । म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।


पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, पूmलको माला र सयपत्री फूल सहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकींले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बडारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरी त्यतिकै छोडेर भोलीपल्ट विहानै खोलामा विर्सजन गर्ने परम्परा छ ।
म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं(अण्डा सगुन) दिन्छ । खेःसगं दिँदा अण्डा, माछा, बारा र मदिरा दिन्छ । यसरी खेःसगं लिइसकेपछि विभिन्न पकवानहरु राखेर भोज खाने प्रचलन छ । भोज खाईसकेपछि सलादको रुपमा गणेशलाई चढाएको विमिरो काटेर भोज समापन गरिन्छ ।
म्हपुजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योती फैलाउने कामना सहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस भन्ने कामनाका साथ पनि गरिन्छ । म्हपुजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ ।
इतिहास तथा संस्कृतिविद् प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले आफूलाई चिनेर सारा संसारलाई चिन्नको लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगतको कल्याण गर्न सक्छु । संसारमा ज्ञानको ज्योती फैलाउन सक्छु भनेर आफू र आफ्नो आत्मालाई गरिने ज्ञानको प्रतिक पूजा नै म्हपूजा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म्हपूजा पूजा यमपञ्चकको चौथौ दिनमा गरिन्छ । त्यसको अघिल्लो दिन अर्थात औसीको दिन लक्ष्मी पूजा । जुन दिन कोजाग्रत पूर्णिमा देखि औंसीसम्म गरिने १६ लक्ष्मीको पूजा सम्पन्न गरिन्छ । यही सम्पन्ताको प्रतिक स्वरुप गरिने पूजा नै म्हपूजा हो ।”
प्रा.डा श्रेष्ठल भन्नुभयो, “म्हपुजा नेवार समुदायको प्रचिन पर्व हो । नेपाल मण्डलका नेवार समुदायले प्राचिन समयदेखि यसलाई मौलिक पर्वका रुपमा यसलाई मनाउँदै आएको छन । यो पर्वमा अन्धकारलाई नाश गरेर बत्ती बालेर आफू र आफ्नो आत्मालाई मात्र नभएर सम्पन्नताको प्रतिक दैनिक जीवनमा प्रयोग हुने कुचो, नाङ्गलो, गाग्री, करुवा, सिलौटा र चुलोलगायत पूजा गरी म्हपूजा पर्व मनाइन्छ ।”
यसै दिन पारेर नेवारले नयाँ सम्वत् समेत मनाउँछन् । म्हपुजाको दिन नेपाल सम्वत शुरु हुन्छ । वर्षभरी कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरी शरिरमा कुनै रोगव्याधीले नसताओस र शरिर सधैं तन्दुरुष्ट होस भन्ने कामनाले पनि म्हपुजा गर्ने प्रचलन शुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउँछन ।
म्हपुजा कहिले देखी शुरु भएको, कसले चलाएको भन्ने बारे एकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखी नै मनाउँदै आइरहेको धौभडेल बताउँछन ।
म्हपुजाको दिन शंखधर साख्वाले तत्कालिन नेपालका सबै जनताको ऋण चुक्तागरी ऋणबाट मुक्त गराएको आख्यान समेत रहेको छ । शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्वत शुरु भएको कथन पाईन्छ ।
कथन अनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुर्हुतमा विष्णुमती र भद्रमतीको बिचमा रहेको चखुंतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ति चढाउँछ । सोही अनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछ । ती भरियाहरु बालुवा लिएर गईरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखी यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले । उहाँले बालुवामा केही रहस्य भएको शंका गरी ति भरियाहरुलाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए । भोली पल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमती लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरी आफ्नो नाउँबाट नयाँ सम्बत चलाएको मान्यता रहेको छ ।
भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाईन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन अनुसार भक्तपुर नगरभित्र हिजो मंगलवार नै म्हपुजा गरेको तलेजुका मुुल आचाजु सिद्धिविर कर्माचाले बनाउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *