अवैध सम्बन्ध लुकाउन हत्या, घटनाको १२ बर्षपछि आरोपी पक्राउ

भक्तपुर, असोज ३१
कर्तब्य ज्यान मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० बर्ष कैद) सजाय फैसला भई फरार रहेका अभियुक्त भक्तपुरमा पक्राउ परेको छ । दाङको साबिक सैघा गा.बि.स. वडा नं. २ कोईला बस्ती (हालको घोराही उपमहानगरपालिका वडा नं.१९) बस्ने ३२ वर्षिय सूर्य बहादुर रानाको गरी फरार भएका सोही स्थान बस्ने प्रेम बहादुर राना भक्तपुरमा पक्राउ परेका हुन ।
उनलाई महानगरिय प्रहरी वृत्त थिमिको टोलीले थिमिको संगम चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राना र नातामा भाउजु पर्ने बिन्दु राना मिलेर सूर्य बहादुरको २०६७ माघ २४ गते हत्या गरेका थिए । उनीहरुले आफ्नो अवैध सम्बन्ध लुकाउन सूर्य बहादुरको हत्या गरेका थिए ।
घटना विवरण अनुसार सूर्य बहादुर वैदेशिक रोजगारका लागि कतारमा थिए । उनी कतार गएपछि बिन्दु र प्रेम बहादुरबीच अनैतिक सम्बन्ध बिस्तार भयो । यही बीचमा सूर्य बहादुर दुई वर्षे कतार बसाईपछि २०६७ माघ १९ गते घर फर्के ।
सूर्य बहादुरले आफुहरुको सम्बन्ध थाहा पाउने डरले बिन्दु र प्रेम बहादुरले २०६७ माघ २४ गते साँझ जाँडमा धतुरो मिसाएर खुवाई बेहोस बनाई घाँटी थिची हत्या गरी डोकोमा बोकी जंगलको भिरालो खोल्सामा लगेर फालेका थिए । मृतक सूर्य बहादुरको शब २०६७ फागुन ५ गते फेला परेको थियो ।
सो घटनामा दाङ जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएका प्रेम बहादुर फरार भएका थिए । उनी घटनाको करिव १२ वर्ष पछि गत असोज २९ गते थिमिमा पक्राउ परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
उनलाई भक्तपुर जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले ठेकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौ चलान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *