अरनिको राजमार्गमा जोडिएको सय रोपनी जग्गा भू–माफियाले हडपेको भन्दै संरक्षणको माग

भक्तपुर, माघ ७
अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित रिखेटार क्षेत्रको करिब १०० रोपनी सार्वजनिक जग्गा भू–माफियाले हडपेको भन्दै स्थानीय नागरिक सरोकार समितिले संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ ।
सरोकार समितिले बिहिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी ग्रिन हाउजिङ प्रा.लिले सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष उपेन्द्रराज केसीसँग गोप्य सम्झौता गरी सार्वजनिक जग्गा कब्जा गरेको आरोप लगाउँदैं उक्त जग्गाको संरक्षण गर्न सरकारसँग आग्रह गरिएको हो ।
समितिले स्थानीय विभिन्न व्यक्तिहरुको नाममा रहेको ७३ रोपनी जग्गामा प्लानिङ गर्ने क्रममा नेपाल सरकारको नाममा रहेको ५३ रोपनी ५ आना जग्गा हाउजिङ कम्पनीले कब्जा गरेको उल्लेख गरेको छ ।
वडा कार्यालयले गरेको गैरकानुनी सम्झौता र हाउजिङ प्रा.लि.ले नेपाल सरकारको सम्पत्ति र प्राकृतिक सम्पदा, खानेपानी, सिचांई, चरिचरण र वनजंगल माथि गरेको हस्तक्षेपको स्थानीय जनता र नागरिक सरोकार मुल समितिबाट विरोध हुँदै आएको छ ।
कार्यक्रममा बोल्दै समितिका सदस्य पशुपति खत्रीले हाउजिङ कम्पनीले वडा कार्यालयसँगको मिलेमतोमा १०० रोपनी भन्दा बढी जग्गा कब्जा गरेको बताउनुभयो । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा स्थानीय निकायको भएपनि स्थानीय तहहरुले नै हाउजिङसँग गोप्य मिलेमतो गरेको उहाँले आरोप लगाउनुभयो । खत्रीले भन्नुभयो, ‘यो विषयमा सम्बन्धित स्थानमा कुरा राख्दा कुनै पनि हिसाबले सरकारी जग्गा हिनामिना हुन दिदैनौ भन्ने तर काम चाँही रोक्न कसैले पनि सकेनन् ।’ जग्गा कब्जामा राजनीतिक पार्टीका नेताहरु नै हाउजिङ कम्पनीसँग साँठगाँठ गरेको समाचार बाहिर आएको उहाँले बताउनुभयो ।
सबै गाउँलेहरु एकिकृत भएर सार्वजनिक जग्गा, सम्पत्तिको रक्षा गर्न नागरिक समिति गठन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले केही दिनमा पनि हाउजिङको काम नरोकिएमा कानुनी रुपमा अगाडी बढ्ने चेतावनी समेत दिनुभयो । उहाँले प्रधानमन्त्री कार्यालय र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई जानकारी गराउँदा तत्काल काम रोक्ने आश्वासन दिइएपनि काम नरोकिएको गुनासो गर्नुभयो । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजूरीमा परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *