अमिता शाक्यद्वारा माझखण्ड बुद्ध विहारलाई भगवान बुद्धको प्रतिमा दान

सुनीता शिल्पकार, २४ माघ, ललितपुर ।

भगवान बुद्धको प्रतिमा माझखण्ड बुद्ध विहारलाई ललितपुरका हःखा निवासी अमिता शाक्यले दान दिनुभएको छ ।
धम्म साकच्छा संघ, हःखा, ललितपुरको आयोजनामा माझखण्ड बुद्ध विहारको धार्मिक भ्रमणको सिलसिलामा आइतवार आयोजित एक धार्मिक कार्यक्रम बीच उहाँ र उहाँका परिवारले उक्त प्रतिमा अखिल नेपाल भिक्षु महासंघमार्फत उक्त महासंघका कोषाध्यक्ष एवं उक्त विहारका विहार प्रमुख भिक्षु बोधिज्ञान महास्थविरलाई दान दिनुभएको हो ।

बुद्ध प्रतिमा ग्रहण गर्नुहुँदै भिक्षु बोधिज्ञान महास्थविरले पहिले माझखण्डको पोखरी डाँडा स्थित पानीट्यांकीमा बुद्ध प्रतिमा स्थापनाका लागि भएको शोभायात्रामा सहभागी हुनुभएका उहाँहरु अहिले आफूहरुले पनि भगवान बुद्धको प्रतिमा दान दिनुभएकोमा हर्ष व्यक्त गर्नुहुँदै साधुवाद दिनुभयो ।

यस्तै बुद्ध प्रतिमा दानको महत्वबारे भिक्षु पञ्ञासार महास्थविरले बुद्ध प्रतिमा दान गर्नु भनेको महाकुशल दान हो । यो रुख रोप्ने जस्तै कुशल कर्म हो । यो कार्यले अनन्त कालसम्म बहुजन हिताय बहुजन सुखाय हुनेछ । उहाँले यसप्रकार दान कार्यले दाता परिवार पनि यस जन्ममा खुशी हुन्छन्, अनि अर्को जन्ममा पनि खुशी हुनेछन् भन्नुभयो ।

दाता अमिता शाक्यले बुद्ध प्रतिमा दान गर्नुको उद्देश्य बारे बताउनुहुँदै २ वर्ष अघि धम्मसाकच्छा संघबाट चैनपूरमा बुद्धमूर्ति दान गरिरहेको बेला आफूले पनि यस्तै दान गर्न पाए हुन्थ्यो भन्ने मनमा धर्म संवेग जागेको र सोही कुरा आफ्नो श्रीमानसँग सल्लाह गरि माझखण्ड बुद्ध विहारमा राख्ने निधो गरका थियौं ।
उहाँले गृहिणीहरु घरमा बसेर गर्न सकिने जुनसुकै काम भएपनि गरिरहनु पर्दछ । समयको सदुपयोग गरिरहनु पर्दछ । सो कुराको अवलम्वन गरि घरधन्दाबाट केही समय निकालेर सुइटर, टोपी आदि बुनी जम्मा गरेको पैसाले यो बुद्धमूर्ति किनेर दान गर्न पाएको र दान गरिसकेपछि आफू एकदम भावविभोर भएको कुरा पनि उहाँले न्यूजअफसँगको कुराकानीमा बताउनुभयो ।

उक्त धार्मिक कार्यक्रममा भिक्षु सागर महास्थविर, अनागारिका अरियञाणी, दाताका तर्फबाट कुलमान शाक्य लगायत उक्त विहारका अध्यक्ष चन्द्रबहादुर स्यांगतांगले पनि आ–आफ्ना मन्तव्य व्यक्त गर्नुभएका थिए ।
उक्त धार्मिक कार्यक्रमका लागि ललितपुरबाट भिक्षु, अनागारिका गुरुमा लगायत उपासकउपासिकाहरु पनि सहभागि हुनुभएकाे थियाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *